आपसी झगडामा इट्टा उद्योगमा काम गर्ने कामदारको ज्यान गयो
दुई जना बिचकाे झगडामा रुपन्देहीको एक इट्टा उद्योगमा काम गर्ने भारतीय कामदारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ हिरापुरस्थित न्यू मनकामना इट्टा उद्योगमा काम गर्ने भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको हो।
विहिबार राती करिब ९ बजेतिर उनकै ट्याक्टर चालक कृष्ण केवटसँग भएको आपसी विवादपछि कुटपिट हुँदा उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले कुटपिटबाट गम्भिर घाईते भएको केवटको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राती ११ बजेतिर मृत्यु भएको जानकारी दिए।प्रहरीले घटनामा संलग्न केवटलाई राती नै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। ‘घटना हेर्दा एकआपसको सामान्य विवादपछि भएको कुटपिटबाट केवटको मृत्यु भएको देखिन्छ, गएराती नै घटनामा संलग्न १९ वर्षीय कृष्ण केवटलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेका छौं, कार्कीले भने। मृतक केवटको छातीमा चोट देखिएकोले ईट्टाले हानेको हुनसक्ने कार्कीले बताए।