रुद्रपुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको दोस्रो दिनको कार्यक्रम सम्पन्न
गोबिन्द आचार्य २०८१ पौष २४ बुधबार
रुपन्देहीको कञ्चन गाउँपालिका वडा न. ४ अस्नैया स्थित रुद्रपुर माध्यमिक विद्यालयले “विना शिक्षा अध्यारो समाज, घर घरमा पुर्याऔं प्राविधिक शिक्षाको आवाज” भन्ने मुल नाराका साथ स्वर्ण महोत्सव आयोजना गरेको छ ।
विद्यालय स्थापनाको ५० औं वर्ष पूरा भएको शुभ अवसरमा पौष २० गते देखी सञ्चालित स्वर्ण महोत्सवको दोस्रो दिनको कार्यक्रम कञ्चन गाँउपालिका अध्यक्ष नवराज ढकालले पानसमा दियो बाली उद्धघाटन गरि शुरु भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
विद्यालय प्रांगणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कञ्चन गाँउपालिका अध्यक्ष नवराज ढकालले रुद्रपुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव आफैमा एउटा पर्व भएकाले विगत ५० वर्ष देखि अनवरत रुपमा यस समाजमा रही शिक्षा प्रदान गर्दै आएकोमा बिधालय परिवारलाई आभार प्रकट गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
स्वर्ण महोत्सवसँगै कृषि प्राविधिक धारको शिक्षालाई प्राथमिकतामा दिएर अगाडि बढेको हुँदा यस विद्यालयलाई आवश्यक पर्ने हरेक सहयोग आफ्नो तर्फबाट रहने र शिक्षा सञ्चालन गर्नको लागि प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो ।
साथै यस क्षेत्रमा कृषि प्राविधिक धार सञ्चालन गर्नको लागि चन्दादाताहरूले दिएको रकमलाई सही सदुपयोग गरी यस क्षेत्रमा कृषि प्राविधिक धार सञ्चालन गर्न अब कम्मर कसिएर लाग्न समेत आग्रह गर्नुभयो ।
विद्यालयको स्वर्ण महोत्सवको अवसरमा जनताको घरदैलोमा पुग्दै गर्दा विद्यालयको लक्ष्य र उद्देश्य कृषि प्राविधिक शिक्षा सञ्चालन गर्न जुन अठोट गरेको छ । त्यसलाई सम्पन्न गर्नको लागि त्यो सपनालाई साकार गर्नको लागि यहाँका शैक्षिक व्यक्तित्वहरू सामाजिक व्यक्तित्वहरूले अनुमोदन गरिसकेको हुदाँ अब कृषि प्राविधिक धारतर्फको शिक्षालाई गन्तव्यतर्फ पु¥याउनको लागि विद्यालय प्रशासन र पालिका अति नै संवेदनशील भएर लाग्नुपर्ने बताउनु भयो ।
साथै कञ्चन गाउँपालिकाले शिक्षाको क्षेत्रमा अत्यन्तै धेरै लगानी गरेको बताउँदै शिक्षामा गरेको लगानीको प्रतिफल तत्कालै नदेखिएता पनि बिस्तारै त्यसको नतिजा देखापर्ने बताउनुभयो साथै कञ्चन गाउँपालिकाले रूपन्देहीका १६ वटा स्थानीय पालिकाहरु मध्ये कञ्चन गाउँपालिकाले शिक्षामा अत्यन्तै धेरै लगानी गरेको र धेरै शिक्षकहरुका लागि तालिमहरूको व्यवस्थापन गरेको समेत उल्लेख गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथी तथा कञ्चन गाँउपालिका उपाध्यक्ष मौसमी थापा मगरले शिक्षा जीवनको अभिन्न अङ्ग भएको हुँदा यस क्षेत्रमा उदाउँदै गरेको कृषि प्राविधिक धारतर्फको शिक्षालाई कञ्चन गाउँपालिकाले के कसरी सहयोग गर्नपर्छ हामी सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस क्षेत्रमा सञ्चालन हुन लागेको यस कृषि प्राविधिक शिक्षाले हाम्रा सन्ततिहरूलाई टाढा टाढा पुगेर शिक्षा लिनुपर्ने समस्याको अन्त्य हुने जिकिर गर्दै स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको यो कृषि प्राविधिक धारको धारतर्फको शिक्षालाई अग्रिम रुपमा बधाई समेत दिनुभएको थियो ।
बिधालय व्यवस्थापन समिती सदस्य जगिलाल थापा र सामुदायिक रेडियो कञ्चनका स्टेशन म्यानेजर गोविन्द आचार्यको सञ्चालन रहेको कार्यक्रममा प्रधानाध्यापक डोलाराम पौडेलको स्वागत सहित विद्यालयको सम्पूर्ण गतिविधिका बारे प्रकाश पारेको सो समारोहका बीच २० हजार रुपैया देखि माथि सहयोग गर्ने चन्दादाताहरुलाई अभिनन्दनका साथै सम्मान गरिएको थियो । त्यस्तै विद्यालय व्यबस्थापन समिति, शिक्षक अभिभावक संघका पुर्व सदस्यहरुलाई सम्मान गरिएको थियो ।
लोकप्रिय गायक सुदिप सिंझाली मगर र गायिका टिका पुनको सांगीतिक प्रस्तुती रहेको समारोहमा कञ्चन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नम्बर ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, मलावरदेवी माध्यमिक विद्यालयका अध्यक्ष शसिधर सापकोटा, कञ्चन गाँउपालिका कार्यपालिका सदस्य सुशिला थापा, समाजसेवी एवं सामुदायिक रेडियो कञ्चनका पूर्व अध्यक्ष विष्णु नारायण श्रेष्ठ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष गिरबहादुर थापा, क्रृयटिभ लुम्बिनी इ. बोडिङ्ग स्कुलका प्रिन्सीपल हेम बहादुर थापा, मिरमिरे आमा समूहको तर्फबाट देवी केसी, पूर्तिघाट टोल विकास संस्थाको तर्फबाट पदम बहादुर खड्का, रा.ज.मो पार्टीको तर्फबाट प्रजापति सापकोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टीको तर्फबाट झविलाल थापा लगायतका विशिष्ट व्यक्तित्वहरुले विद्यालयको स्वर्ण महोत्सवको अवसरमा महत्त्वपूर्ण शुभकामना व्यक्त गर्नुभएको थियो ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष ठाकुर गौतमले कार्यक्रम समापन गर्दै भन्नू भयो विद्यालयको स्वर्ण महोत्सव सम्मको यात्रामा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कक्षा– १ देखि १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाइ हुने रुद्रपुर माध्यमिक विद्यालयमा हाल ७०० जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक एवम् कर्मचारीसमेत गरी ४२ जना सेवारत रहेका छन् ।