रुद्रपुर युवा क्लबद्वारा आयोजित चौथो रुद्रपुर कप फुटबल प्रतियोगिता सम्पन्न, फुटबलको उपाधि रानीबगियालाई
रुपन्देही / रुद्रपुर युवा क्लब कञ्चन गाउँपालिका ४ रूपन्देहीको आयोजनामा सञ्चालन गरिएको चौथो रुद्रपुर कप खुल्ला नकआउट फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। क्लबको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल रानीबगिया फुटबल क्लब र फर्साटिकर युवा क्लबबीच सम्पन्न भएको थियो। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा रानीबगिया फुटबल क्लबले फर्साटिकर युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चौथो रुद्रपुर कपको उपाधि हात पारेको छ।
समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री भुमिश्वर ढकाल रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता रुद्रपुर युवा क्लबका अध्यक्ष लालबहादुर दर्लामी (अर्जुन) ले गर्नुभएको थियो।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री ढकालले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक दिशातर्फ अग्रसर गराउने उल्लेख गर्नुभयो। उहाँले ग्रामीण क्षेत्रमा आयोजना हुने यस्ता प्रतियोगिताले लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। मन्त्री ढकालले रुद्रपुर युवा क्लबको खेल मैदानको चारैतर्फ तार जाली लगाउने कार्य आगामी आर्थिक वर्षको बजेटमार्फत व्यवस्थापन गरिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। खेल मैदानको संरक्षण र स्तरोन्नति बिना खेलकुदको दिगो विकास सम्भव नहुने भन्दै प्रदेश सरकार स्थानीय तह र समुदायसँग सहकार्य गर्दै खेलकुद पूर्वाधार विकासमा लाग्ने धारणा राख्नुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै भूमि समस्या सम्बन्धी आयोग, रुपन्देहीका सदस्य तथा भलिबलका राष्ट्रिय रेफ्री रामबहादुर थापाले खेलकुद र सामाजिक विकास एकअर्काका पूरक भएको बताउनुभयो। उहाँले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र टिमवर्कको भावना विकास गर्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। थापाले भूमि समस्या, अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधानका लागि आयोग सक्रिय रूपमा कार्यरत रहेको जानकारी गराउँदै समस्या समाधानमा स्थानीय सरकार, सरोकारवाला निकाय र नागरिकको साझा प्रयास अपरिहार्य रहेको उल्लेख गर्नुभयो। भलिबलका राष्ट्रिय रेफ्रीको अनुभव साट्दै उहाँले खेलकुदमार्फत युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिने सम्भावना रहेको भन्दै खेलकुदमैत्री नीति र पूर्वाधार विकासमा सबैको ध्यान जानुपर्ने धारणा राख्नुभयो।
प्रतियोगितामा विजेता रानीबगिया फुटबल क्लबले प्रथम पुरस्कार स्वरूप नगद रु. १,३१,१११/-, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उक्त नगद पुरस्कार कञ्चन गाउँपालिका–४ निवासी रुमबहादुर थापा र लालमाया थापाको सौजन्यमा प्रदान गरिएको हो। त्यसैगरी उपविजेता फर्साटिकर युवा क्लबले द्वितीय पुरस्कार स्वरूप नगद रु. ६५,५५५/-, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। व्यक्तिगत विधातर्फ म्यान अफ द म्याच रानीबगिया फुटबल क्लबका जर्सी नम्बर १२ का निराजन खत्री घोषित भए। बेस्ट गोलकिपरको उपाधि रानीबगिया फुटबल क्लबका विक्रम रानाले हात पारे भने हाई स्कोरको उपाधि सम्पूर्ण युवा क्लब सुपौलीका संगम ठकुरी ले प्राप्त गरे। त्यसैगरी उदयमान खेलाडी को उपाधि सन्दिप मगर ले जित्दा बेस्ट प्लेअर को उपाधि फर्साटिकर युवा क्लबका अनुप थापा लाई प्रदान गरिएको थियो।
कार्यक्रममा क्लबका सचिव तथा खेल संयोजक दृष्टी रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लक्ष्मण बस्नेतले गर्नुभएको थियो। चौथो रुद्रपुर कप फुटबल प्रतियोगिताले स्थानीय युवाहरूको खेल प्रतिभा उजागर गर्नुका साथै आपसी सद्भाव, अनुशासन र खेल भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजक रुद्रपुर युवा क्लबले जनाएको छ। प्रतियोगिता अवधिभर स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रुद्रपुर माध्यमिक बिधालयको खेलमैदानमा पौष २३ गते देखि संचालन रहेको खेल आज सम्पन्न भएको हो ।



