शुद्धोधन गाउँपालिकाको १९ औँ गाउँसभा तथा हिउँदे अधिवेशनको दोस्रो बैठक सम्पन्न ।
रुपन्देही शुद्धोधन गाउँपालिकाको १९ औँ गाउँसभा अन्तर्गत हिउँदे अधिवेशनको दोस्रो बैठक सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष विष्णु बस्यालको अध्यक्षतामा सम्पन्न बैठकमा चालु आर्थिक वर्षका नीति, कार्यक्रम तथा कार्यान्वयन अवस्थामाथि व्यापक छलफल गरिएको थियो।
बैठकमा गाउँपालिका अध्यक्ष विष्णु बस्यालद्वारा प्रस्तुत प्रतिवेदनमाथि गाउँसभा सदस्यहरूले विभिन्न सुझाव तथा टिप्पणीहरू प्रस्तुत गरेका थिए। सो क्रममा गाउँपालिकामा पछिल्लो समय बे-रुजु (आर्थिक अनियमितता) किन बढ्दै गएको हो भन्ने विषयमा सदस्यहरूले गम्भीर चासो व्यक्त गरेका थिए। साथै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक समाधानका उपाय अवलम्बन गर्नुपर्ने विषय बैठकमा प्रमुख रूपमा उठाइएको थियो।
सदस्यहरूको प्रश्न तथा सुझावको जवाफ दिँदै गाउँपालिका अध्यक्ष विष्णु बस्यालले बे-रुजुका कारणहरू पहिचान गरी आगामी दिनमा यसलाई क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आर्थिक पारदर्शिता, अनुशासन र प्रभावकारी अनुगमन प्रणालीलाई थप सुदृढ बनाइने बताउँदै गाउँपालिकाको सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
बैठकमा विकास निर्माण, सेवा प्रवाह, आर्थिक व्यवस्थापन तथा प्रशासनिक सुधारका विषयमा पनि छलफल भएको थियो। सहभागी सदस्यहरूले गाउँपालिकाको समग्र विकासका लागि सहकार्य र उत्तरदायित्वपूर्ण भूमिकाको आवश्यकता औंल्याएका थिए।



