spot_img

पाल्पा रिब्दीकोट गाउँपालिकामा अकबरे खुर्सानी वार्षिक रूपमा १० देखि १५ करोड रुपैयाँ खुर्सानी बिक्री

रिब्दीकोटमा ‘अकबरे खुसी’जिल्लाको रिब्दीकोट गाउँपालिका फेक गाउँका कृषक जितबहादुर छहरीलाई यस पटक दसै र तिहार मनाउनका लागि निकै सहज भयो ।

पहिले–पहिले खर्चको जोहो गर्न कठिन थियो तर विगत केही वर्षयता निकै सहज भएको छ । कसैलाई आवश्यक परे अरूलाई २, ४ हजार सापटी दिन पनि सक्छु, उनले भने ।

यो गाउँपालिकामा पछिल्लो दशकमा अकबरे खुर्सानीको बलियो हब बनेको छ । उत्पादित बस्तु बजारीकरणका लागि स्थानीय सरकारले समन्वय गरेका कारण यहाँ खुर्सानी नभएको घरै नभएको छैन ।

यस वर्ष दसै अगाडि नै खुर्सानी बेचेर ४ लाख रुपैयाँ हात पारेको उनले बताए । अन्नबाली लगाउँदा वन्य जन्तुबाट जोगाउन कठिन समयमा अकबरे खुर्सानीले आफू र आफू जस्ता साना किसानको आठमा खुसी मुस्काएको उनले सुनाए ।गाउँ बस्तीमा खेतीयोग्य जमिनमा बाँदर, मृग र हरिणले दिनमा सताउने भने रातमा दुम्सी बँदेलको रजाइँ हुन लागेपछि क्रमशः गाउँ बस्तीबाट बैकल्पित कामको खोजीमा अन्त जाने क्रम बढेको थियो ।

यो अवस्थालाई रोक्नका लागि ५ वर्ष अगाडि बाँझो जमिनमा खेती गर्ने अभियान स्थानीय सरकारले चलाएको थियो । खुर्सानीले गुम्न लागेको खुसी पुन फर्किएको फेक कै कृषक सिता खाम्चा बताउँछिन् ।

घरायसी प्रयोजनका लागि मात्र २-४ बोट मात्र लगाएका कृषकलाई स्थानीय सरकारले खुर्सानीको अभियानलाई आर्थिक रूपले बलियो बनाउँदै आत्म निर्भरको यात्रा सुरु गरी वैदेशिक रोजगारीलाई निरुत्साहित तुल्याउने गरी अभियानका रूपमा व्यावसायिक खेती तर्फ प्रेरित गरेका कारण यस वर्ष दसैँ अगाडि नै ४ करोड रुपैयाँ रिब्दीकोट गाउँपालिका भित्र भित्रिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख प्रज्ञा लामटाङे बताउँछिन् ।

उत्पादित बस्तुको सङ्कलन केन्द्र मार्फत चाउचाउ उद्योगमा पुग्न लागेपछि कृषकहरूको प्रमुख नगदे वाली भएको भैरव स्थानका कृषक बिष्णु बहादुर कार्की बताउँछन् । गत वर्ष ३ लाख बराबरको खुर्सानी बिक्री गरेका कार्कीले गत वर्षको तुलनामा यस वर्ष राम्रो हुने बताउँछन् ।यस वर्ष दसै खर्चका लागि कुनै समस्या नै नभएको र राम्रो पैसा हात परेको उनले बताए । बारीमा खुर्सानी नभएको भए बारी बँझिने थियो । पछिल्लो समयमा सुन्तला मौसम पनि बाँदरले खान लागेपछि थप समस्या बल्झिएको थियो ।

खुर्सानीका कारण गाउँमा घरको दैला खुला देख्न पाइएको छ । नत्र घरका धुरी धुरी बाँदर नाच्ने थिए । आज खुर्सानीले फाटेका कपडा भित्रका मलिन चेहराहरूमा खुसी ल्याएको उनले बताए । बजारीकरणमा पनि समन्वय गर्न गाउँमा सहकारी मार्फत खरिद गर्ने भनेपछि लगाउन सुरु गरे ।

बसाइँ सराई हुने क्रम अत्यधिक भयो त्यसलाई पनि रोक्नु थियो । कृषिमा केही हुँदैन भन्ने भावना विकसित भएकाले वैदेशिक रोजगारी नै प्रमुख गन्तव्य भएको थियो । वैदेशिक रोजगारीको विकल्पमा अकबरे खुर्सानी बनाउनका लागि उत्पन्न चुनौतीको सामना गर्दै ४ करोड भन्दा बढी लगानी गरेर सुरुवात गरिएको खुर्सानी खेतीले आफ्नो सपना सार्थक बनाएको निवर्तमान अध्यक्ष नारायण बहादुर जि.सी बताउँछन् ।

खुर्सानी खेती सबै घर परिवार सँग जोडिएका छन् । हार्थोकमा सङ्कलन केन्द्र बनाइएको छ । त्यही सङ्कलन गरिएको खुर्सानी देशका विभिन्न भागमा निर्यात हुन्छ । खुर्सानी खेती थालनी गरिए पनि यसलाई विविधीकरण गर्न अहिले सम्म सकिएको नसकिएको उनले बताए ।

प्रभात मा.बिमा अध्यापन गर्ने जनक आचार्य रिब्दीकोट गाउँपालिका भित्र कै सबै भन्दा धेरै खुर्सानी उत्पादन गर्ने कृषक पनि हुन् । गत वर्ष ५ लाख भन्दा बढी एउटै बारीमा आम्दानी गरेको बताउँदै यही खुर्सानीले हुँदा खाने बर्गलाई अहिले हुने खाने बनायो ।

गरिबले च्यापिएको परिवारको अहिले चुलोमा आगो बोल्न लागेको छ । एक पटक लगाएपछि पटक–पटक उत्पादन लिन सकिने यो खेतीलाई अहिले चराले नोक्सान गर्न लागेको बताउँछन् ।

एक वर्षमा २ सय ५० देखि ३ सय मेट्रिक टनसम्म उत्पादन हुने र यस वर्ष यहाँबाट ठुलो परिमाणमा बिरुवा निर्यात भयो । वार्षिक रूपमा १० देखि १५ करोड रुपैयाँ खुर्सानी बिक्रीबाट रकम भित्रिने गाउँपालिकाको कृषि शाखाले जनाएको छ

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर