आज गाईंगोरु र गोबर्द्धन पूजा
कार्तिक ५
तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार अन्तर्गत हिजो कुनै कर्म नपरेको बताए पनि कतिपयले हिजो नै गाइको पूजा गरेका छन् । यस्तै आज नै गोरु, किसान र हलोको पनि पूजा गरिँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ ।



