द्रुत प्रतिकार्य टोली र स्वास्थ्यकर्मीका लागि (लू) र स्वास्थ्य सम्बन्धि अभिमुखीकरण
२०८२ भाद्र ०९
बढ्दो गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रुपन्देहीको सैनामैनामा द्रुत प्रतिकार्य टोली र स्वास्थ्यकर्मीका लागि तातो हावाको लहर (लू) र स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ।
सैनामैना नगरपालिका नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसको लागत साझेदारीमा सञ्चालित सहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन (सुपर) परियोजनाअन्तर्गत सोमबार आयोजित कार्यशालामा तातो हावाको लहर (लू) र त्यसबाट बच्न सकिने उपायहरूबारे छलफल गरिएको हो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले विपदको पूर्व तयारी र प्रतिकार्यका लागि कार्यशाला महत्त्वपूर्ण रहेको बताए । जलवायु परिवर्तन र तीव्र वातावरणीय विनाशले तापक्रम वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गरे ।
तापक्रम न्यूनीकरणका लागि हरियाली प्रवर्द्धन गर्ने, वातावरणमैत्री प्रविधिको प्रयोग बढाउने र ऊर्जाको खपत घटाउने जस्ता सामूहिक प्रयासहरूमा जोड दिनुपर्ने उनको भनाइ छ ।
शर्माले यस चुनौतीलाई सामना गर्नका जनचेतना र ठोस कदमहरू आवश्यक रहेको उल्लेख गरे ।
उपप्रमुख विना रानाले विपद व्यवस्थापनमा स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । साथै तातो हावाको लहर (लू) बाट जोखिममा रहेका ज्येष्ठ नागरिक, बालबालिका तथा बिरामीहरूको विशेष हेरचाहमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याईन ।
त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पङ्गेनी (कृष्ण), नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति रामचन्द्र उपाध्याय, सैनामैना नगरपालिका निमित्त प्रमुख टिकाराम शर्मा, नेपाल रेडक्रस सोसाइटी जिल्ला मन्त्री टेकबहादुर थापाले आ-आफ्नो धारणा राखेका थिए । ।
कार्यशालाको मुख्य उद्देश्य (लू) को जोखिम न्यूनीकरण गर्ने, स्वास्थ्यकर्मीहरूलाई यससम्बन्धी आवश्यक जानकारी दिने र आपतकालीन अवस्थामा छिटो तथा प्रभावकारी रूपमा प्रतिकार्य गर्न सक्ने टोली तयार पार्नु रहेको थियोे ।
जल तथा मौसम विज्ञान रुपन्देही इन्जिनियर कृष्ण काफ्ले र जनस्वास्थ्य अधिकृत हेमराज पन्थीले सहजीकरण गरेका थिए ।
द्रुत प्रतिकार्य टोली र स्वास्थ्यकर्मीका लागि (लू) र स्वास्थ्य सम्बन्धि अभिमुखीकरण
प्रतिक्रिया



