बुटवल टुडे मिडिया ग्रुपमा तिज मिलन
हरीतालिका तीज पर्वको शुभ अवसरमा बुटवल टुडे मिडिया ग्रुपले संस्थामा कार्यरत सम्पूर्ण महिला सहकर्मीलाई लक्षित गर्दै तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले महिलामाझ आपसी सद्भाव, एकता र उत्साह अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल टुडे मिडिया ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेलले महिलाको भूमिकाबिनाको समाज अपूर्ण हुने भन्दै सञ्चार जगत्मा समेत महिलाको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको बताए । उनले महिलाको श्रम, क्षमता र सृजनशीलतालाई कदर गर्दै आगामी दिनमा संस्थाले अझ सशक्तिकरणका कार्यक्रम अघि सार्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी, प्रवन्ध सञ्चालक तथा प्रवन्ध सम्पादक नवराज कुँवरले तीज पर्वले महिलाबीच आत्मीयता, खुशी र साझा संस्कृतिको संरक्षण गर्ने भूमिका खेलेको बताए । उनले बुटवल टुडे मिडिया ग्रुपले महिला सहकर्मीको मेहनत र योगदानलाई विशेष सम्मानका साथ लिएको उल्लेख गर्दै भविष्यमा पनि संस्थागत तथा सामाजिक उत्तरदायित्वअनुरूपका कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिए ।
दर खाने कार्यक्रममा महिला सहकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रमले कार्यस्थलमै पर्वको उल्लास मनाउने अवसर प्रदान गरेको भन्दै खुशी व्यक्त गरे । संस्थाले यसलाई वार्षिक परम्परा स्वरूप अघि बढाउने तयारी समेत गरेको जनाएको छ ।



