नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा “करदाता शिक्षा तथा लेखा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम” बुटवलमा सम्पन्न भएको छ । कार्यक्रम इक्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेको अध्यक्षता र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा इक्यानमा आबद्ध शैक्षिक परामर्श व्यवसायीहरूलाई कर शिक्षा, लेखा प्रणाली, व्यवसाय कर, कर छुट, मूल्य अभिवृद्धि कर लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले सदस्य संस्थाहरूले आचारसंहिताभित्र रही सत्य, प्रमाणित र पारदर्शी सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शैक्षिक परामर्श सेवाले विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले हरेक संस्थाले उत्तरदायित्वप्रति गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभयो । साथै, अनियमितता वा भ्रमपूर्ण जानकारी दिने संस्थामाथि इक्यानले कडा निगरानी गरी आवश्यक कारबाहीको सिफारिस गर्ने नीति अवलम्बन गरिने चेतावनी दिनुभयो ।इक्यान रुपन्देहीका संस्थापक तथा निवर्तमान अध्यक्ष देवबहादुर कुँवरले कार्यक्रमको औचित्य स्पष्ट पार्दै करसम्बन्धी सचेतना वृद्धि गर्दै सदस्य संस्थाहरूलाई व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले शैक्षिक परामर्श व्यवसाय क्रमशः व्यवस्थित रूपमा विस्तार भइरहेको सन्दर्भमा, लेखा र कर प्रणालीप्रति सजग रहनु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो ।
करसम्बन्धी प्रशिक्षण इक्यान केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे र कोषाध्यक्ष आशिक कार्कीले प्रदान गर्नुभएको थियो । करका विभिन्न प्रावधानहरू, करको वर्गीकरण, फर्म दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरू, कर तिर्ने समय र प्रक्रिया, छुटका व्यवस्था, दण्ड–जरिवाना लगायतका विषयमा विस्तृत प्रस्तुति दिनुभयो । प्रशिक्षण सत्र अत्यन्त व्यावहारिक र सहभागीमैत्री शैलीमा संचालन गरिएको थियो, जसले सहभागी व्यवसायीहरूलाई आफ्नो दैनिक कार्यमा सिधा रूपमा उपयोग गर्न सकिने ज्ञान प्रदान ग¥यो ।
प्रशिक्षणपछि सहभागी व्यवसायीहरूबीच लेखा प्रणाली कसरी व्यवस्थित राख्ने, बिल तथा इनभ्वाइस काट्ने कानुनी तरिका, मूल्य अभिवृद्धि करको सही प्रयोग, विवरण कहिले र कसरी बुझाउने, कर कार्यालयसँग समन्वय गर्ने तरिका लगायतका विषयमा गहन र खुला छलफल भएको थियो ।
सहभागीहरूले आफ्ना अनुभव, समस्या र जिज्ञासाहरू साझा गर्दै समाधान खोज्ने प्रयास गरेका थिए, जसले कार्यक्रमलाई अझ प्रभावकारी र उद्देश्यपूर्ण बनाएको थियो। यस्तो किसिमको व्यावसायिक र जानकारीमूलक प्रशिक्षणले सदस्य संस्थाहरूलाई पारदर्शिता, जवाफदेहिता र कानुनी दायित्व पालन गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा एनएमबि बैंक लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख युवराज पाठकले बैंक सधैं इक्यान सदस्यहरूसँग सहकार्य गर्न तत्पर रहेको र बैंकिङ समस्याको समाधानमा सहजता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
इक्यान रुपन्देहीका उपाध्यक्ष राजेश प्रसाद पाण्डेले स्वागत मन्तव्य राख्दै अतिथि, प्रशिक्षक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रममा सबैको सक्रिय सहभागिता सराहनीय रहेको उल्लेख गर्दै, यसले पारदर्शिता र उत्तरदायित्वमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक तथा इक्यान रुपन्देहीका कोषाध्यक्ष दिपेश अर्यालले धन्यवाद मन्तव्य दिँदै सहभागी सम्पूर्ण अतिथि, प्रशिक्षक तथा सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन इक्यान रुपन्देहीका सचिव गोविन्द बस्नेतले गर्नुभएको थियो ।



