spot_img

गैडहवा ८गोल्डेन फ्युचरमा रक्षाबन्धन, सांस्कृतिक पर्वको महत्त्वबारे विद्यार्थीलाई ज्ञान

गोल्डेन फ्युचरमा रक्षाबन्धन, सांस्कृतिक पर्वको महत्त्वबारे विद्यार्थीलाई ज्ञान

कृष्ण भण्डारी
गैडहवा-८ मैनियामा अवस्थित गोल्डेन फ्युचर इङ्ग्लिस बोर्डिङ्ग स्कुलमा रक्षाबन्धनको अवसर पारेर विशेष ‘राखी कार्यक्रम’ सम्पन्न भएको छ। किताबी ज्ञानका साथै सांस्कृतिक मूल्यमान्यताको महत्त्व बुझाउनका लागि आयोजित यस कार्यक्रममा विद्यार्थी, शिक्षक र कर्मचारीहरूले हर्षोल्लासका साथ डोरो बाँधेर खुसी साटासाट गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालयका प्राचार्य लेखनाथ पोखरेलले यस्ता पर्वहरूलाई जगेर्ना गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले विद्यार्थीलाई केवल किताबी ज्ञान र घोकन्ते शिक्षामा मात्र सीमित नगरी हाम्रो संस्कृति र परम्पराको महत्त्व पनि सिकाउन चाहन्छौं।”
कार्यक्रममा विद्यालयका कक्षाध्यापकहरूको सक्रियतामा विद्यार्थीहरूले एकअर्कालाई डोरो बाँधेका थिए। यसले आपसी सद्भाव र भाइचाराको भावना बढाउन मद्दत गरेको थियो।

पाठ्यक्रमभन्दा बाहिरका गतिविधिहरूमा जोड

गोल्डेन फ्युचर इङ्ग्लिस बोर्डिङ्गले नियमित शैक्षिक कार्यक्रमका अतिरिक्त अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको छ। विद्यालयमा नियमित रूपमा नृत्य कक्षा, कम्प्युटर कक्षा, स्काउट तालिम, योग र मेडिटेसनजस्ता कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। यसले विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत पुर्याएको छ।

रक्षाबन्धनको पर्व हिन्दु धर्ममा विशेष महत्त्व राख्छ। यसको ऐतिहासिक र धार्मिक कथा महाभारतसँग जोडिएको छ। पाण्डवहरूकी पत्नी द्रौपदीले युद्धमा भगवान कृष्णको हातबाट रगत बगेको देख्दा आफ्नो सारीको टुक्रा च्यातेर घाउमा बाँधिदिएकी थिइन्। त्यसपछि, कृष्णले द्रौपदीको रक्षा गर्ने वचन दिएका थिए। यही पौराणिक घटनाबाट नै रक्षाबन्धनको परम्परा सुरु भएको मानिन्छ, जहाँ दिदीबहिनीले दाजुभाइको दीर्घायु र सफलताको कामना गर्दै नाडीमा राखी बाँधेर आफ्नो सुरक्षाको वचन लिन्छन्।

विद्यालयका सहप्राचार्य कृष्ण बिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। यस किसिमका गतिविधिले विद्यार्थीहरूलाई आफ्नो संस्कृति र सामाजिक दायित्वप्रति सचेत बनाउनुका साथै उनीहरूको व्यक्तिगत विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर