रोटरी क्लब सैनामैनाको अध्यक्षमा भोजराज पौडेल
अनिता चौधरी
२०८२ श्रावण १७ गते
रोटरी क्लब सैनामैनाको ११औं पदस्थापना कार्यक्रम सम्पन्न, अध्यक्षमा भोजराज पौडेल
रोटरी क्लब अफ सैनामैनाको ११औं पदस्थापना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। यस वर्ष सन् २०२४-०२५ का लागि भोजराज पौडेलले क्लबको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन्। निवर्तमान अध्यक्ष पिताम्बर न्यौपानेले एक विशेष समारोहका साथ पौडेललाई पद हस्तान्तरण गरे।
नवनिर्वाचित कार्यसमितिमा आई.पी.पी. पिताम्बर न्यौपाने, इलेक्ट प्रेसिडेन्ट चेत नारायण न्यौपाने, नोमिनी प्रेसिडेन्ट चन्द्रकान्त पाण्डे, प्रथम उपाध्यक्ष जमुना थापा, द्वितीय उपाध्यक्ष रिम बहादुर श्रेष्ठ, तृतीय उपाध्यक्ष उदय खनाल, चौथो उपाध्यक्ष चन्द्रमनी ज्ञवाली, सचिव खिमानन्द आचार्य, र कोषाध्यक्ष मधुसूदन श्रेष्ठ रहेका छन्।
अन्य महत्वपूर्ण पदहरूमा प्रशासन प्रमुख बाबुराम आचार्य, सर्भिस प्रोजेक्ट प्रमुख युवराज कडेल, मेम्बरसिप प्रमुख दुर्गा गौतम, एडिटर यमलाल खरेल, सार्जेन्ट एट आर्म (प्रथम) धनपति ढकाल, सह-कोषाध्यक्ष प्रचण्ड भारी, सहसचिव नारायण पाण्डे, ट्रेनर मिन प्रसाद पौडेल, लिटरेसी प्रमुख होमनाथ अधिकारी, सार्जेन्ट एट आर्म (द्वितीय) जयलाल घिमिरे, महिला विकास प्रमुख कोपिला कुँवर, जोइन एडिटर भीमलाल जैसी, हेल्थ कोर्डिनेटर तथा मेन्टर चाम बहादुर क्षेत्री र ऋषिराम पाण्डे रहेका छन्।
नवनिर्वाचित अध्यक्ष भोजराज पौडेलले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गर्दै स्वास्थ्य शिविर एवं स्वास्थ्य सचेतना, शैक्षिक आई.सी.टी. सामग्री वितरण, न्यानो विद्यालय पोसाक वितरण, खेलकुद प्रवर्द्धन र वातावरण संरक्षण लगायतका कार्यहरूलाई प्राथमिकता दिने बताए।
निवर्तमान अध्यक्ष पिताम्बर न्यौपानेले आफ्नो कार्यकालमा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, स्वास्थ्य शिविर आयोजना, सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाका लागि आई.सी.टी. सामग्री जडान, र वृक्षारोपण जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न गरिएको जानकारी दिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले नेतृत्व विकास, व्यक्तित्व निर्माण, र विधि पद्धति सिकाउने संस्था रोटरी क्लबको प्रशंसा गरे ।
उनले समाजमा अहिले व्याप्त नकारात्मक सोचलाई बदल्दै सबैजना एक भएर समाज परिवर्तनमा अगाडि बढ्नुपर्ने जोड दिए।
मन्त्री ढकालले रोटरीको निस्वार्थ सामाजिक सेवाभावको उच्च कदर गर्दै सामुदायिक दन्त अस्पतालको परिकल्पनालाई निकै सराहनीय कदम बताए। यदि क्लबले अस्पतालका लागि वैध जग्गा प्राप्ति गर्न सके बजेट व्यवस्थापनका लागि पहल गर्ने आश्वासन दिएका छन्।
सरकारी नीतिकाबारे जानकारी गराउदै उनले हालको नियमअनुसार जग्गाको स्वामित्व बिना कुनै पनि परियोजनाका लागि बजेट विनियोजन गर्न नसकिने बताए ।
रोटरी क्लब सैनामैनाका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेलले सैनामैनामा सामुदायिक दन्त अस्पताल सञ्चालन गर्ने योजना रहेको बताए।
डिष्ट्रिक्ट ३२९२ पास्ट डिष्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वाजुले दन्त अस्पताल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी परियोजना बनाउन आग्रह गरे।
यस वर्ष रोटरी क्लबले आवश्यक स्थानीय नगरपालिका वा गाउँपालिकामा नयाँ रोटरी क्लब स्थापना गर्न सकेमा सैनामैना क्लबको गरिमा र सक्रियता बढ्ने विश्वास व्यक्त गरे ।
उनले वातावरण संरक्षण र बढ्दो मानसिक स्वास्थ्य समस्या कम गर्न सचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।
कार्यक्रममा रोटरी क्लबका विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधिहरू र सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता भोजराज पौडेलले गरेका थिए भने स्वागत मन्तव्य इलेक्ट प्रेसिडेन्ट चेत नारायण न्यौपानेले दिएका थिए।
क्लब पुर्व अध्यक्ष प्रेम कुमार शर्मा (सागर) को धन्यवाद ज्ञापन र क्लबकै पूर्व अध्यक्ष माधव खनालको कार्यक्रमको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा पत्रकार कृष्ण भण्डारी र अनिता चौधरीलाई प्रशंसा-पत्रसहित सम्मान गरिएको थियो।



