spot_img

आफ्नै भान्साकोठामा सर्पले डस्यो एकै घरबाट २३ वटा विषालु ‘कमन कोब्रा’का बच्चा उद्धार

← Back

Thank you for your response. ✨

रुपन्देहीको तिलोत्तमा-५ प्रेमनगरस्थित एकै घरबाट २३ वटा विषालु ‘कमन कोब्रा’का बच्चा उद्धार गरिएको छ। सर्प उद्धारकर्ताको टोलीले डिलराम अर्यालको घरमा गुँड बनाएर बसेका ती सर्पलाई पाँच दिन लगाएर उद्धार गरेको हो।

असार २२ गते अर्याललाई आफ्नै भान्साकोठामा सर्पले डस्यो। तत्कालै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइएका उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ। यही घटनापछि घरमा सर्प खोज्ने क्रममा यस्तो अवस्था फेला परेको हो।

अर्याललाई सर्पले टोकेपछि खबर पाएर सर्प उद्धारकर्ता विशाल पाण्डेको टोली उनको घर पुगेको थियो। पाण्डेले सुरूमा ढोकामा एउटा कोब्रा देखेर उद्धार गरे।

तर, घरभित्र खोजी गर्दा भान्साकोठाको र्याकमुनि कोब्राले गुँड नै बनाएर बच्चा कोरलेको अवस्थामा भेटियो। त्यसपछि विशालसहितको टोलीले पाँच दिन लगाएर कुल २३ वटा कोब्राका बच्चालाई सुरक्षित रूपमा उद्धार गर्यो।

उद्धारकर्ता विशाल पाण्डेले भने, ‘पहिलो दिन पाँच वटा सर्पको उद्धार गरियो। पछि शंका लागेर र्याक फोरेर मुनि हेर्दा अरू थप सर्प भेटिए।’

यो चुनौतीपूर्ण उद्धारमा उनका बुवा खिमलाल पाण्डे, भाइ विश्वास पाण्डे तथा टोलीका अन्य सदस्य सागर पाण्डे, नवीन पौडेल र युवराज तिवारी पनि खटिएका थिए।

पाण्डेका अनुसार, बच्चा सर्पहरूलाई उद्धार गर्ने क्रममा घरको भुइँ भासिएकाले माउ कोब्रा भने उम्किएको र फेला पार्न सकिएन। उनले एउटै घरमा यति ठूलो संख्यामा कोब्रा भेटिनु दुर्लभ भएको बताए।

रोचक कुरा त के छ भने, १३ वर्षअघि पनि विशालका बुवा खिमलालले सोही घरबाट ११ वटा कोब्राका बच्चा उद्धार गरेका थिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर