बुटवलको कालिकानगरमा स्कुटर दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। पाल्पाको पुर्वखोला गाउँपालिका वडा नं. ४ घर भइ हाल बुटवल १० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पुर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परि मृत्यु भएको हो।
वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतका अनुसार मिर्गौलाका विरामी श्रेष्ठ डायलाईसिस गराउन अस्पताल जाने क्रममा सोमबार विहानै साढे ५ बजेतिर दुर्घटनामा परेका थिए।
लु १९ प २६९७ नम्बरको स्कुटरमा अस्पताल जाँदै गरेका श्रेष्ठ बुटवल १० कालिकानगरस्थित सर्भिसलेनमा रोकिराखेको ना. २ ह ७५३ नं. को अटोरिक्सा सँग ठोक्किएर दुर्घटनामा परेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए।
दुर्घटना भएको खबर पाउने वित्तिकै घटनास्थल पुगेको वडा प्रहरी कार्यालयको टोलीले श्रेष्ठलाई दुर्घटनापछि घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला पारि पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगेको जनाएको छ।
प्रहरीले घटनास्थलमा स्कुटर र मृतक श्रेष्ठलाई मात्र पल्टिएको अवस्थामा फेला पारेपछि नजिकैका सिसिटिभी फुटेज हेर्दा अटोरिक्सासँग ठक्कर खाएर स्कुटर पल्टिएको भेटिएको थियो। त्यसपछि खोजी गर्दै जाँदा बुटवल उपमहानगरपालिका वडा नं. २ मैनाबगरमा लुकाएको अवस्थामा अटोरिक्सा फेला परेको प्रहरी निरिक्षक बस्नेतले बताए।
अटोरिक्साको चालक भने फरार छन्। अहिले अटो रिक्सा र स्कुटरलाई नियन्त्रणमा लिई चालकको खोजि गरिरहेको प्रहरीले जनाएको छ।



