तिलोतमा माछा पाल्न खनिएको पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु
माछा पाल्न भनेर बनाइएको पोखरीमा डुबेर रुपन्देहीको तिलोत्तमामा एक बालकको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतमको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार बुधवार साँझ घर नजिकै माछा पाल्न भन्दै एक व्यवसायीले खनेर राखेको पोखरीमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो।
तिन चार जना साथीसँग खेल्न भन्दै गएका प्रज्ञान साँझ ६ बजेतिर पौडी खेल्ने क्रममा पोखरीमा डुबेका थिए। बालक पोखरीमा डुबेको भन्दै साँझ ७ बजेतिर खबर आएपछि उद्धारको लागि गएको प्रहरीले राती १० बजे मात्रै पोखरीमा डुबेका बालकलाई बाहिर निकाल्न सकेको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए।
तिलोत्तमा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष देवीप्रसाद पङ्गेनीका अनुसार स्थानीय व्यवसायी नारायण बन्जाडेले व्यवसायीक रूपमा माछा पाल्ने भन्दै पोखरी निर्माण गरेका थिए। उनले पोखरीको चारैतर्फ पर्खाल उठाएर गेट राख्न मात्र बाँकी थियो। पोखरीको गेट खुल्ला देखेपछि पौडी खेल्न गएका बालक पोखरीको दलदलमा गडेपछि पौडी खेलेर माथि निस्किन नसक्दा मृत्यु भएको वडा अध्यक्ष पङ्गेनीले जानकारी दिए।
पङ्गेनीका अनुसार पोखरीमा १० फिट भन्दा गहिरो पानी भरिएको छ भने पिँधमा माटो पग्लिएर दलदल बनेको छ। गहिरो र दलदल सहितको पोखरीमा डुबेका बालकलाई तिन घण्टाको खोजीपछि प्रहरीले बाहिर निकालेको पङ्गेनीले जानकारी दिए।
अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागी बालकको शवलाई घरमा ल्याइएको वडा अध्यक्ष पङ्गेनीले बताए। श्रोत समय चक्र



