spot_img

प्रतिनिधि सभा उपनिर्वाचनका लागि रुपन्देही-३ मा एमालेले नेता खिमलाल भट्टराईलाई उम्मेदवार

आगामी कात्तिकमा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि रुपन्देही-३ मा एमालेले नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ ।

पूर्वराष्ट्रिय सभा सदस्य समेत रहेका भट्टराई नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन् ।

 

त्यसक्रममा निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन आगामी कात्तिक दोस्रो देखि तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दिएको थियो ।

प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) मा रिक्त भएपछि ती स्थानको पदपूर्ति गर्न आयोग उपनिर्वाचनको तयारीमा लागेको हो । ती स्थानमा सरकारको परामर्शमा आगामी असार २० गतेभित्र निर्वाचन आयोगले मिति तोक्ने तयारी गरेको छ ।

निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले यही असार २० गतेभित्र प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन मिति तोक्ने तयारी भइरहेको बताए ।

‘प्रतिनिधि सभा र प्रदेश सभाको एकै दिनका लागि मिति तोकिन्छ, स्थानीय तहको निर्वाचन मिति फरक दिन पनि हुनसक्छ’, भण्डारीले भने, ‘हामी आन्तरिक छलफलमै छौँ ।’

आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपनिर्वाचनबारे छलफल गरेलगत्तै एमालेले रुपन्देही-३ मा भट्टराईलाई उम्मेदवार बनाउने तयारीअनुसार क्षेत्रमा खटाइसकेको बुझिएको छ । भट्टराईले पार्टीको निर्देशन अनुसार आफू भूगोलमा खटिएको बताए ।

‘अध्यक्षसहित शीर्ष नेताको सुझाव र दिर्नेशनअनुसार म उपनिर्वाचनको तयारीका लागि भूगोलमा निस्केको छु’, भट्टराईले भने,‘अव जरुरी काम नपर्दासम्म भूगोलमै रहन्छु ।’ भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग असार नौ गते भेटेर उम्मेदवारीबारे छलफल गरेका थिए । त्यसक्रममा ओलीले भट्टराईलाई उम्मेदवार बनेर जित्नेगरी अघि बढ्न सुझाव दिएका थिए । भेटपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीसँग बसेर खिचेको तस्बिर सार्वजनिक गर्दै महत्त्वपूर्ण भेट भएको लेखेका थिए । ‘सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीज्युसँगको महत्त्वपूर्ण भेट । २०८२ आषाढ ९ बालुवाटार’, भट्टराईले फेसबुकमा लेखेका छन् ।

२०७९ मा भएको निर्वाचनमा रुपन्देही ३ मा राप्रपाका नेता दीपक बोहरा निर्वाचित भएका थिए । उनले त्यसबेला कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए । बोहराको गत चैत १९ गते निधन भएपछि उक्त स्थान रिक्त बन्न पुगेको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर