कामाख्या मन्दिरमा पुजा सामाग्री मन्दिरबाटै उपलब्ध
मन्दिरमा दर्शन एवं पुजाको लागि जादाँ पुजा सामाग्री आफै खरिद गरेर जाने गरिन्छ । तर तिनाउ –३ पाल्पा बशन्तपुरमा अवस्थित माँ कामाख्या मन्दिरमा पुजा गर्न जाने दर्शनार्थीहरुलाई पुजा सामाग्री मन्दिरमा नै उपलब्ध हुने गरेको पाईएको छ । मन्दिरमा आउने भक्तजनहरुको सुबिधाको लागि मन्दिर व्यवस्थापन समितिले कुनै पनि किसिमको सेवा शुल्क बिना नियमित रुपमा पुजा सामाग्री उपलब्ध गराउदै आएको कामाख्या मन्दिरका मूल पुजारी सुरेश पौडेलले बताउनु भयो ।
कामाख्या मन्दिर तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुर डाडामा अवस्थित छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं.–३ गोलपार्क देखि झण्डै ३ घण्टाको हिडाई बाट बशन्तपुर मन्दिरमा पुग्न सकिन्छ । मन्दिर सम्म जानको लागि बुटवल –३ गोलपार्क केबलकार चोक देखि केबलकार सेवा उपलब्ध रहेको छ । केबलकारको यात्राबाट भने करिव १२ मिनेटमा बशन्तपुर माँ कामाख्या मन्दिरमा पुग्न सकिन्छ । मन्दिर समुद्री सतहदेखि करिब ३३ सय फिटको उचाईमा रहेको छ । यो मन्दिर नेपालको एक मात्र कामाख्या मन्दिर भएको मन्दिरका पुजारी पौडेलले बताउनु भयो ।

पछिल्लो समय नेपाल एवं भारतबाट समेत उल्लेख्य संख्यामा तिर्थयात्रीहरु दर्शन एवं पुजाको लागि माँ कामाख्या मन्दिरमा आउने गरेको र यसरी आउने धेरै जसो तिर्थयात्रीहरु लुम्बिनी केबलकार यात्राबाट नै आउने गरेको पुजरीले बताउनु भयो ।
तिनाउ –३ पाल्पा बशन्तपुर प्राकृतिक रुपमा रमणीय क्षेत्रको रुपमा रहेको छ । यहाँ देखि प्राकृतिक मनमोहक दृश्यहरुको अवलोकन गर्न सकिन्छ । गर्मी मौषम अवधिभर तराईमा ४० डिग्री भन्दा बढी तापक्रम हुदाँ तिनाउ –३ पाल्पा बशन्तपुरमा भने २५ देखि ३० डिग्री मात्र तापक्रम हुने गर्दछ । यहाँको प्राकृतिक विषेशतामा गर्मीमा न्यून तापक्रम र जाडो महिनामा तराइमा शीत लहर चलिरहेको समयमा पहारिलो न्यानो घाम लाग्नु रहेको छ ।



