फ्रि-मिडिया नेटवर्ककाे बैठक : सकारात्मक साेच सहितकाे पत्रकारिता बिकास गराैं
बुटवल । सकारात्मक सोचसहितको पत्रकारिताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्। उनीहरुले सकारात्मक पत्रकारितामा केन्द्रीत हुनुपर्ने बताए
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा भएको फ्रि मिडिया नेटवर्कको बैठक तथा छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सकारात्मक सोचसहितको पत्रकारिता आवश्यक रहेको बताए। ‘सबै कुरामा सकारात्मक भएर पनि हुँदैन। विकृतिप्रति निर्मम हुनैपर्छ, ’उनले भने। रुपन्देहीको मिडिया नतिजामूलक, सकारात्मक र सहयोगी रहेको भन्ने आफूले बुझेको र यो रुपन्देहीको पत्रकारिता जगतको सकारात्मक बाटो भएको उनले बताए। उनले मिडिया टिकाउनेतर्फ चिन्तन गर्नुपर्नेमा जोड दिए। प्रजिअ घिमिरेले शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले रुपन्देही शान्त जिल्लाको रुपमा रहेको बताए । ‘खुल्ला सीमाका कारण केही चुनौती छन्, सबैको सहकार्य र सहभागीतामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सकिन्छ, ’उनले भने। उनले नागरिकका चासो र सवाललाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्न आग्रह गरे।
aawash
मानव अधिकार आयोग कार्यालय बुटवलका प्रमुख हरि ज्ञवालीले नागरिकलाई कसरी आशावादी बनाउन सकिन्छ भन्नेतर्फ सोच्नुपर्ने बताए। उनले सिमान्तकृत, अल्पसंख्यक समुुदाय, विकास, वातावरण, शिक्षाका मुद्दालाई बढी प्राथमिकता दिन आग्रह गरे।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले रुपन्देहीको पत्रकारिता परिपक्व भएको आफूले पाएको बताए । उनले जिल्लामा पत्रकार असुरक्षित भएको सूचना नपाएको बताए।
ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले नागरिकले दुःख नपाउने गरी सेवा प्रवाह गरिरहेको बताए । उनले पत्रकारको सुरक्षाका लागि सहकार्य गर्दै अघि बढ्ने बताए।
बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेलले रुपन्देहीको पत्रकार र मिडिया टिकाउन ध्यान दिनुपर्ने बताए। उनले भने, रुपन्देहीका पत्रकार संयमित र लगनशील हुनुहुन्छ। उनले पछिल्लो समय समाचारको कपी–पेस्टले पत्रकारिता क्षेत्रमा असर पुगेको बताए।
उच्च अदालत बार एसोसिएशन बुटवलका अध्यक्ष गोविन्द प्रसाद मरासिनीले स्रोत नभइकन समाचार सम्प्रेषण नगर्न आग्रह गरे। उनले न्यायपालिकासँग सम्बन्धित समाचार लेख्दा अझ विशेष ध्यान दिन आग्रह गरे।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले आलोचन सुन्नुपर्ने र आलोचनाले सच्चिने मौका दिने बताए। उनले पछिल्लो समय प्रायोजित समाचारहरु पनि आइरहेको बताए। उनले फोहोरलाई लुकाउने भन्दा पनि उठाउने वातावरण बनाउनुपर्ने बताए।
रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले समाचारका कारण मात्र नभइ गलत प्रेस विज्ञप्तीका कारण पनि समस्या सिर्जना हुने गरेको बताए। उनले नागरिकलाई सेवा प्रवाह गर्ने कार्यालयहरुको अनुगमन आवश्यक रहेकोमा जोड दिए। ‘हरेक कुरामा नकारात्मक भाष्य बनाइएको छ, पत्रकारले जथाभावी पोस्ट गर्ने र कमेन्ट गर्नुहुँदैन, ’उनले भने।
रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले कसैको व्यक्तिगत कुरालाई संस्थासँग जोड्न नहुने बताए । उनले समाज सुधारमा सकारात्मक समाचारको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा फ्रि मिडिया नेटवर्क रुपन्देहीका संयोजक दिनेश पाण्डेले मिडियालाई सकारात्मक दिशातर्फ उन्मुख गराउन लागिपर्ने बताए। उनले बैठकमा उठेका विषयवस्तुले आफूहरुलाई मार्गनिर्देशनका साथै आगामी दिनको बाटो तय गर्ने बताए। ‘पत्रकार महासंघ पत्रकारहरुको नेतृत्व गर्ने संस्था हो, हाम्रा केही कमजोरी भए त्यसलाई सच्याउन चाहन्छौं, ’उनले भने।
पत्रकार महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका सल्लाहकार रामराज पोख्रेलले पत्रकारलाई हेर्ने विभिन्न निकाय रहेको बताए। उनले पत्रकार ‘इथिक्स’ मै रहेर काम गरेको र काम गर्ने क्रममा हरेक क्षेत्रमा कमीकमजोरी हुन सक्ने बताए। उनले भने, ‘हामी ठीक छौं जस्तो लाग्छ।’
पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार शेर बहादुर के.सी.ले पत्रकारले ‘वाचडग’ को भूमिका खेले कि खेलेनन् भन्नेबारे निगरानी हुन जरुरी रहेको बताए। उनले पत्रकारिता क्षेत्रमा सुधार गर्नुपर्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए।
बैठकमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डित, पत्रकार महासंघ रुपन्देहीका सचिव सि.पी. खनाल लगायतले भनाइ राखेका थिए।
प्रत्येक महिनाको १० गते फ्रि मिडिया नेटवर्कको बैठक बस्ने पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश के.सी.ले बताए