मह जोडीले गरे लुम्बिनी केबलकारको अवलोकन भ्रमण एवं माँ कामाख्याको दर्शन
बुटवल मंसिर २९
मह जात्रा २०८१ प्रहसनको लागि बुटवलमा आउनुभएका मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आज लुम्बिनी केबलकारको अवलोकन भ्रमण तथा माँ कामाख्या धाम मन्दिरको दर्शन गर्नुभएको छ । आज मंसिर २९ गते बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा आयोजित मह जात्रा २०८१ मा सहभागि हुनका लागि बुटवलमा आउनुभएका मह जोडीले आज बिहान लुम्बिनी केबलकारको अवलोकन भ्रमण एवं माँ कामाख्याको दर्शन गर्नुभएको हो ।
लुम्बिनी केबलकारको अवलोकन भ्रमण तथा माँ कामाख्याको दर्शनमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेत लगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।
अवलोकन भ्रमणको बारेमा सक्षिप्त कुराकानी गर्दै कलाकार मदन कृष्ण श्रेष्ठले लुम्बिनी केबलकारको निर्माण तथा संचालन कार्यले यस क्षेत्रको मात्र नभई नेपालको पर्यटन, प्रवर्धन विकाशमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । लुम्बिनी केबलकारको यात्रा एवं माँ कामाख्याको दर्शनले अलौकिक आनन्दभूति हुने र यस्तो पर्यटकीय एवं धार्मिक क्षेत्रको विकाशमा यति महत्वपूर्ण कार्य गर्ने योजनाकर्ता, लगानीकर्ताको जयजयकार होस् भनि कामना गरेको बताउनु भयो ।
लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थले मह जोडीलाई स्वागत गर्दै केबलकारको प्राविधिक पक्ष बारे जानकारी गराउनु भएको थियो । केबलकारको टप स्टेशनमा अवस्थित माँ कामाख्या मन्दिरका मूल पूजारी सुरेस पौडेलले माँ कामाख्या मन्दिरको बारेमा जानकारी गराउनु भएको थियो ।
मह जोडीले गरे लुम्बिनी केबलकारको अवलोकन भ्रमण एवं माँ कामाख्याको दर्शन
प्रतिक्रिया