अर्घा रजस्थल माविको स्वर्णजयन्ती, विद्यालय सुधार योजना कार्यान्वनयमा मुख्यमन्त्री आचार्यको जोड
अर्घाखाँची, २९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्क नगरपालिका–९ रहिसचौर स्थित अर्घा रजस्थल माध्यमिक विद्यालयको स्वर्णजयन्ती महोत्सवको उद्घाटन गरेका छन । भब्य कार्यक्रमका विच मुख्यमन्त्री आचार्यले स्वर्णयन्ती महोत्सवको शनिबार उद्घाटन गरेका हुन ।
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन विद्यालय सुधार योजनालाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिए ।‘एक्लो प्रयासले मात्रै शैक्षिक गुणस्तर बढाउन सकिदैन । यसकालागी चौतर्फी सहकार्य र साझा प्रयासको खाँचो पर्दछ’उनले भने,‘विद्यार्थीलाई उत्प्रेरित गर्ने, अभिभावक जागरुक हुने, शिक्षक तथा विद्यालय परिवार उत्साहित भएर विद्यालय सुधार योजनालाई प्रभावकारी कार्यान्वयनमा जुट्न जरुरी छ ।’
अर्घा रजस्थल माध्यमिक विद्यालयलाई यहाँ सम्म ल्याईपु¥याउन धेरैको योगदान र भूमिका रहेको स्मरण मुख्यमन्त्री आचार्यले गरे ।‘यो विद्यालयलाई यहाँ सम्म ल्याईपु¥याउने धेरै अग्रजहरु हुनुहुन्छ । कति त दिवंगत हुनु भयो, उहाँहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु’उनले भने,‘विद्यालयलाई अघि बढाउन अझैं क्रियासिल रहनुभएकाहरु प्रति हार्दिक धन्यवाद भन्न चाहन्छु ।’
विद्यालय सञ्चालन गर्दा शिक्षकहरुलाई तलव खुवाउन नसक्ने अवस्थाबाट पार पाउदै आजको अवस्थामा आईपुग्दाको क्षणको स्मरण गरेका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विद्यालयको शैक्षिक उन्नयनकालागि सक्दो सहयोग पर्ने प्रतिबद्धता व्यक्त गरे ।‘विद्यालय सञ्चालन गर्दा पठनपाठन गराउने गुरुहरुलाई तलव खुवाउन समस्या थियो । भैलो खेलेर जम्मा गरेको रकमबाट तलव खुवाईन्थ्यो’ विगत सम्झदै भने,‘अहिले विद्यालय विशाल भएको छ । जस्तो सोंचेका छौं, विद्यालयलाई त्यहाँ सम्म पु¥याउन जरुरी छ ।’ स्वर्णजन्तीको अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालय परिसरभित्र स्मारिका मञ्चको शिलान्यास समेत गरेका छन । यो विद्यालयमा मुख्यमन्त्री आचार्यले अक्षरारम्भ गर्दै कक्षा पाँच सम्म अध्ययन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा स्वर्णजयन्तीको उद्घाटन कार्यक्रम भएको थियो ।



