राष्ट्रिय युवा क्लब सैनामैना चारद्वारा बाल गृहमा सहयोग प्रदान
तिहारमा देउसी भैलो खेलेको पैसाले विभिन्न युवा क्लबहरु यतिबेला घुमघाममा एवं विभित्र क्षेत्रको भ्रमणमा व्यस्त छन् । तर रुपन्देहीको सैनामैना स्थित राष्ट्रिय युवा क्लब सैनामैना वडा नं ४ ले भने देउसी भैलो खेलेर उठेको रकम सामाजिक सेवामा खर्चिएको छ ।
शनिबार एक कार्यक्रमका बिच युवा क्लबले अभियान नेपाल बाल गृह सैनामैना १, वनकट्टीमा खाद्यान्न, स्टेसनरी, लत्ताकपडा एवं खेलकुद सामाग्री प्रदान गरेको हो ।
समाजमा रहेका अनाथ बालबालिकाहरुको लागि केही गरौं भन्ने उदेश्यले देउसी भैलोबाट उठेको पैसाले सहयोग गर्न पाउँदा आफूहरु निकै हर्षित रहेको क्लबका सदस्यहरुले बताएका छन् ।
त्यस्तै अभियान नेपाल बाल गृहका सञ्चालक मना शाहीले युवा क्लबले गरेको सहयोगबाट अनाथ बालबालिकालाई थप राहत प्रदान भएको उल्लेख गर्दै क्लबप्रति कृतज्ञता समेत व्यक्त गर्नुभएको छ।
कार्यक्रम क्लबका उपाध्यक्ष विधान भण्डारीको अध्यक्षता, कार्यवाहक सचिव दिपेन्द्र रिजालको सञ्चालनमा सम्पन्न भएको क्लबका सदस्य विष्णु ढकालले बताउनुभयो।
राष्ट्रिय युवा क्लब सैनामैना ४ ले स्थापना कालदेखि नै विभिन्न सामाजिक सेवा गर्दै आएको छ ।