सैनामैना उद्योग वाणिज्य सङ्घले मनायो ११ औं स्थापना दिवस
कृष्ण भण्डारी
रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित सैनामैना उद्योग वाणिज्य सङ्घले आफ्नो स्थापनाको एघारौं वर्षलाई भव्यताका साथ मनाएको छ। व्यापारी, व्यवसाय र आम उपभोक्ताको हितको लागि खोलिएको संस्था हो यो ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका मानव अधिकार तथा शान्ति समाज नेपालका निवर्तमान अध्यक्ष एवम युवा समाजसेवी गोविन्द खनालले वर्तमान समयमा धराशाही बन्दै गइरहेको उद्योग व्यापारलाई अब हामी सबैको बलबाट माथि उठाउनुपर्ने कुरा व्यक्त गर्नुभयो, साथै सैनामैना नगरपालिका वडा नम्बर ७ मा शुभारम्भ गर्ने भनेको सैनामैना नमुना औद्योगिक ग्राम र सालझण्डीको रिफ्रेस सेन्टरलाई पनि प्राथमिकताका साथ अगाडि बढाउन स्थानीय, प्रदेश र केन्द्र सरकारसँग अनुरोध गर्नुका साथै लुम्बिनी आउने पर्यटकलाई सैनामैना क्षेत्रको अवलोकन र बास गराउने, सैनामैना भित्र नै स-साना उद्योगहरुलाई बढी मात्रामा प्राथमिकता दिएर बैंकिङ सेक्टरसँग सहकार्य गर्दै न्यून ब्याजदरमा लगानी उपलब्ध गराई प्राथमिकताका साथ उद्योगी र व्यापारीलाई प्रोत्साहन दिन बैंकिङ सेक्टरसँग सहकार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
प्रमुख अतिथि खनालले संस्थाको आफ्नै जग्गा र भवन नभएको हुँदा स्थानीय सरकारसँग जग्गाको माग गर्दै, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरी उत्कृष्ट स्थानमा यसको भवन निर्माणका लागि तत्काल आफूले सक्ने प्रयास गर्ने र नगरभित्र नै लगानी भित्र्याउनका लागि विशेष खालका ठूला-ठुला व्यावसायी प्रतिष्ठानसँग पहल गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
खनालले बिकासको अधिकार : अहरणिय अधिकार भएको उल्लेख गर्र्दै संकटको यस समयमा व्यावसायी जोगाउन सरकारले राहत प्याकेज ल्याउनु पार्ने माग समेत गर्नुभयो ।
सैनामैना उद्योग बाणिज्य संघका सल्लाहकार रण बहादुर खनालले उद्योगी व्यापारीको समस्या समाधान गर्ने मुख्य संस्था नै सैनामैना उद्योग वाणिज्य संघ रहेकाले सरकारका व्यवसायिक नीति निर्माणमा उद्यमी तथा व्यापारी मैत्री बनाउन यसका पदाधिकारी लाग्नु पर्ने र आम उद्यमी व्यापारी संघमा आवद्ध भएर संघलाई प्रभावकारी बनाउन पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निर्वतमान अध्यक्ष राज बहादुर क्षेत्री , सामाजसेवी तथा व्यवसायिक व्यक्तित्व तारानाथ वेलवासे , सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल , उपभोक्ता हित संरक्षण मञ्चका सैनामैनाका अध्यक्ष दुर्गा गौतम , घरेलु तथा साना उद्योग महासंघ सैनामैनाका अध्यक्ष दिनेश पाण्डे , सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसायि संघका अध्यक्ष झविन्द्र पोख्रेल , पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सैनामैनाका अध्यक्ष तुलसी प्रसाद लम्साल , सैनामैना सैलुन व्यवसायिक संघका अध्यक्ष राधेश्याम ठाकुर, तिनाउ पश्चिम वितरक संघका अध्यक्ष नरेश न्यौपाने लगायतले संघको ११ औँ स्थापना दिवशको अवसरमा शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको अध्यक्ष सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षता, संस्थाका कोषाध्यक्ष नारायण पन्तको स्वागत एवं संस्थाका महासचिव लोकनाथ अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन गुरुप्रसाद पराजुलीले गर्नुभएको थियो।