मक्किपक्सको नयाँ भेरिएन्ट अत्यधिक संक्रामक र घातक
काठमाडौँ — अफ्रिकी देश कंगोमा व्यापक रूपमा फैलिएको एमपक्स (मक्किपक्स) को नयाँ भेरिएन्ट ‘क्लेड १ बी’ को संक्रमण अहिले अफ्रिकाबाहेक अन्य महादेशहरु लगायत दक्षीण एशियाली देश पाकिस्तानमा पनि देखापरेको छ ।क्रमश यसको प्रभाव अन्य दक्षीण एशियाली देशहरुका साथै नेपालमा पनि देखा पर्न सक्ने स्वास्थ्य विज्ञहरुले बताउन थालेका छन् । स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार गत वर्ष नेपालमा पनि एक ६० वर्षीय विदेशी महिलामा एमपक्स पुष्टि भएको भन्दै नेपाल यो रोगको जोखिममा रहेको भन्दै सतर्कता अपनाउनका लागि आग्रह गरेको छ ।
दुई वर्ष अगाडि विश्वकाभर फैलिएको एमपक्सको भेरिएन्टभन्दा अहिले देखापरेको नयाँ भेरिएन्ट निकै संक्रामक र घातक मानिएको छ ।
विज्ञहरूले विश्वको कुनै एक भागमा फैलिएको संक्रमण विश्वभर विस्तार हुन सक्ने भएकाले सचेतताका लागि आग्रह गरेका छन् । पछिल्लो समय अफ्रिकी मुलुक कंगो, युगान्डा, केन्या लगायत देशमा फैलिएको एमपक्स अहिले स्विडेन र पाकिस्तानमा समेत देखा परिसकेको छ ।
स्वास्थ्य मन्त्रालयले यो रोगबारे जानकारीका लागि कल सेन्टर १११५ सञ्चालनमा ल्याएको जानकारी गराएको छ । साथै हवाई तथा जमिनका नाकाहरूमा रहेका हेल्थ डेक्सहरू तथा सरुवा रोगहरूको निगरानी गर्ने सम्बन्धित निकायलाई सर्तकता गराइसकेको जानकारी गराएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापन गर्न अस्पताल र चिकित्सक तोकिसकेको जनाएको छ ।
मंकीपक्स विश्वव्यापी रुपमा फैलिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी आपतकाल घोषणा गरिसकेको छ । डब्लूएचओका अनुसार यो भाइरस संक्रमित व्यक्तिको सम्पर्कबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यो बिफर रोग लाग्ने घातक प्रजाति ‘क्लेड–१ बी’ ले गर्दा सर्ने गर्दछ । मंकीपक्सका कारण सन् २०२४ जनवरीदेखि हालसम्म कंगोमा ५ सय ४८ जनाको मृत्यु भइसकेको छ ।
ईडीसीडीका अनुसार एमपक्स बिरामीको प्रारम्भिक लक्षण मौसमी रुघाखोकी (फ्लु) जस्तै हुन्छ । ज्वरो आउने, टाउको, मांसपेसी र कम्मर दुख्ने, जिउ काम्ने र थकाइ लाग्ने हुन्छ । सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, शरीरका ग्रन्थी बढ्ने मंकीपक्सका लक्षण हुन् । ईडीसीडी निर्देशक डा। घिमिरेका अनुसार संक्रमण जटिल बनेको खण्डमा मस्तिष्क ज्वरो, आँखाको दृष्टि गुम्ने, निमोनियाजस्ता थप जटिलता देखिन सक्छ ।
ईडीसीडीका अनुसार श्वासप्रश्वासका साथै थुक, र्याल, संक्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट यो संक्रमण सर्ने जोखिम हुन्छ । त्यस्तै संक्रमित पशु बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । बालबालिका, गर्भवती र रोग प्रतिरोधक क्षमता कम भएकामा यसको गम्भीर संक्रमण देखिने गरेको पाईएको छ । संक्रमण भएदेखि सामान्यतः ६ देखि १३ दिन शरीरमा लक्षण देखिन सक्छ । ईडीसीडी अनुसार कहिलेकाहीँ यो समय ५ दिनदेखि २१ दिनसम्म पनि देखिने गर्छ । ‘आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्दछ ।
स्वास्थ्य मन्त्रालका अनुसार यसबाट बच्न एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग सावधानी नअपनाई सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्ने जनाएको छ ।