कार दुर्घटनामा निजी क्षेत्रले गुमायो कुशल ब्यवस्थापक
पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको निजी कार दुर्घटनामा परी बुधबार साँझ ३ जनाको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार दुर्घटनामा परी २ जना घाइते भएका छन्।
नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको सेलेरीयो कार सडकदेखि करिब सय मिटर तल खसेको थियो। दुर्घटनमा परी मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल उपमहानगरपालिका–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते उनीहरुलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनीहरु संगै एसएलसी दिएका ब्याजीहरुको भेला बुटवलमा सम्पन्न गरेर नुवाकोट घुम्न गएका थिए।
दुर्घटनामा परि ज्यान गुमाएका शर्मा निजी क्षेत्रका कुशल बजार ब्यवस्थापक हुन्। लामो समय चाउचाउको ब्यवस्थापनमा सक्रिय शर्मा पछिल्लो केही समय यता मसला उद्योगको बजार ब्यवस्थापनमा सक्रिय थिए।
बिभिन्न सामाजिक र ब्यवसायीक संस्थाहरुमा सक्रिय शर्मा उद्योगबाट उत्पादीत उत्पादनको बजारीकरणमा अब्बल ब्यवस्थापक मानिन्छन्।
रमपम चाउचाउ हुदै लाली चाउचाउको बजारीकरण र ब्यवस्थापनमा उनले आफुलाई राष्टिय स्तरमै पहिचान दिन सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन्। शर्मा पछिल्लो समय यसोदा फुड्समा कर्पोरेट म्यानेजरको रुपमा कायरत थिए।
यसैगरी दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ।
उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ। दुर्घटना बुधबार साँझ करिब ८ बजेर २५ मिनेटको समयमा भएको थियो। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ



