रिडी–तम्घास सडक आजदेखि १६ असारसम्म दिनहुँ १२ घण्टा बन्द हुने
लुम्बिनी हब
जेठ १८, २०८१ शुक्रबार
आजदेखि रिडी–तम्घास सडकखण्ड पुनः एक महिनासम्म बन्द भएको छ । स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम भइरहेकाले सडक बन्द गर्न गरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ । यो समय अवधिमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ । गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केही ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका काम बाँकी छ ।सवारी साधनको चाप बढेसँगै पुरानो बाटो साँघुरो भएकाले रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडकखण्ड विस्तार गरिँदै छ । सोही योजना अन्तर्गत पहिलो चरणमा रिडीदेखि राजासम्म २५ किलोमिटर सडक स्तरोन्नतीसँगै कालोपत्रे हुन लागेको हो । सडकमा समानान्तर इलाइट जेभीले काम गर्दै आएको छ । सडकमा कटिङ्ग र स्तरोन्नतीको काम गर्न करिब २२ वटा डोजर प्रयोग गरिएको छ ।राजमार्गमा ७० प्रतिशत कटिङ्गको काम सकिएकोे समानान्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताए । १ अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक बिस्तारको ठेक्का सम्झौता भएको थियो ।
रिडि तम्घास सडक असार १६ सम्म दैनिक १२ घन्टा बन्द हुने
प्रतिक्रिया