बुटवल जेठ –५
गत वर्षहरुमा विद्र्यार्थीहरुलाई वार्षिक भ्रमण तालिका अन्र्तगत भारतको उत्तरखण्ड, सिक्किम, दार्जिलिग लगायतका क्षेत्रहरुमा घुमाउन लैजाने भारत उत्तर प्रदेशका विभिन्न स्कुल तथा कलेजहरुले नेपाललाई पनि शैक्षिक अध्ययन, अवलोकनको भ्रमणको गनतव्य बनाउन थालेका छन् । पछिल्लो समय बुटवल लगायतका क्षेत्रहरु वरपर निर्माण भएका पर्यटकीय गनतव्यहरुमा भारतीय शिक्षक तथा विद्यार्थीहरुको आर्कषण बढेको पार्ईएको हो ।
बुटवलमा मणिमुकुन्द पार्क फुलवारी, हिलपार्क, तिलोत्तमा नगरपालिकामा अवस्थित शंकरनगर वनविहार तथा रिशर्च सेन्टर लगायतका क्षेत्रहरु विषेश पर्यटकीय क्षेत्रको रुपमा रहेका छन् । धार्मिक पर्यटनको लागि आउने भारतीय पर्यटकहरुको लागि सिद्धबाबा धाम, मुक्तिनाथ धाम,राधाकृष्ण मन्दिर, नीलकण्ठ बाबा धाम, कालिका मन्दिर, राम मन्दिर, बाघ भैरव मन्दिर बौद्ध बिहार, पद्य चैत गुम्वा लगायत रहेका छन् ।
गत वर्ष देखि लुम्बिनी केबलकारको सञ्चालन संगसगै बुटवल क्षेत्रले पर्यटकीय गनतव्यको रुपमा नयाँ पहिचान बनाउन पुगेको छ । शनिवार भारत उत्तर प्रदेश राज्यको महाराजगंज जिल्लामा अवस्थित एमपी कलेजका कक्षा ६ देखि १२ सम्म अध्ययनरत २ सयको संख्यामा विद्यार्थीहरु लुम्बिनी केबलकारको अध्ययन, अवलोकन भ्रमणमा आएका छन् । १४ जना शिक्षक, शिक्षिका सहित २ सयको सख्यामा आएका विद्यार्थीहरुले यस अघि वार्षिक शैक्षिक अध्ययनको लागि उतरखण्ड राज्यको हरिद्धार, सिक्किम, दार्जिलिग जाने गरेकोमा यो वर्षदेखि बुटवल आउन लागेको बताए ।
विद्यार्थीहरु सहित आएका शिक्षक अदालत प्रसाद यादवले केबलकारको यात्राबाट विद्यार्थीहरु निकै उत्साहित भएको बताए । अर्का शिक्षक कविता जोसवले अन्य विद्र्याथीहरुलाई शैक्षिक भ्रमणको लागि लुम्बिनी केवलकारमा ल्याउने बताइन् । यात्रामा रहेकी कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत रितु यादवले पहाडको प्राकृतिक वातावरणले अत्यन्तै उत्साहित बनाएको बताइन् ।