धार्मिक पर्यटनको आधार लुम्बिनी केबलकार
बुटवल वैशाख २२
बुटवल-बशन्तपुर सञ्चालित लुम्बिनी केबलकारमा अन्य पर्यटकहरुको साथसाथै धार्मिक पर्यटकहरुको संख्यामा बृद्धि हुन थालेको छ। केबलकारको माथिल्लो स्टेशन तिनाउ ३ पाल्पामा माता कामाख्याको मन्दिरमा दर्शकका लागि जाने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भईरहेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
आज बैशाख २२ गते हाम्रो लुम्बिनी खबरको टिम लुम्बिनी केबलकारको बटम स्टेशनमा बिहान ८ बजे पुग्दा पाल्पा र कपिलवस्तु बाट माता कामाख्यको दर्शनका लागि समूहगत रुपमा आएका ठुलो संख्यामा धार्मिक पर्यटकहरु भेटिए। हाम्रो लुम्बिनी खबर संगको कुराकानीमा आज एकादशी तिथि रहेकोले माता कामाख्याको दर्शनको लागि आएको उनीहरुले बताए ।
माता कामाख्याको दर्शनको लागि कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं.-८ मधुवन बाट आएका सक्रिय भजन क्रितन समूहका पदाधिकारहरु सदस्यहरु सहित भेटिए। सक्षिप्त कुराकानीको क्रममा समूहका अध्यक्ष कमला घर्ति मगरले माता कामाख्याको दर्शनको लागि आएको बताउनु भयो ।
माता कामाख्याको मन्दिर लुम्बिनी केबलकारको माथिल्लो स्टेशन तिनाउ ३ पाल्पामा अवस्थित छ। पौराणिक मान्यता अनुसार दक्ष प्रजापतिको महायज्ञको कुण्डमा सतिदेवीले देह त्याग गरे पछि कोधित भई सतिदेवीको शरिरलाई महादेवले धारण गरि हिडेकोले महादेव लाई शान्त पार्नको लागि भगवान विष्णुले धारण गरेको चक्र प्रयोग गरि सति देविको शरिरलाई क्षदक्षद गरेकोमा शरिरको भाग मध्ये निलाञ्चल पहाडमा सतिदेवीको गर्भ खसी यहीबाट माता कामाख्याको उत्पति भएको मान्यता रहि आएको छ। माता कामाख्याको मन्दिरलाई संसारको एक आध्यात्मिक एवं रहस्यमय मन्दिरको रुपमा लिने गरिन्छ । माता कामाख्याको मन्दिरमा जुन इच्छा लिएर भक्त आउछ त्यो इच्छा, मनोकामना पुरा हुने धार्मिक विश्वास रहि आएको छ। माता कामाख्या मन्दिरको ५२ औ शक्तिपिठको रुपमा तिनाउ गाउँपालिका-३ पाल्पामा रहेको छ।
केबलकारको यात्रा बाट माता कामाख्यको मन्दिरमा दर्शनको लागि जाने, आउने क्रममा बुटवल सहरको सुन्दर दृश्य, सिद्धबाबा धाम, चुरे क्षेत्रको हरियाली वन जंगल तथा पहाडको खोचहरुबाट बगिररहेको पानीको दृश्य, केबलकारको सरदर २० मिटर उचाई माथिबाट देखिने जंगली जीवजन्तु र विभिन्न प्रकारका चराहरु देख्न सकिन्छ भने उत्तर तर्फ अन्नपूर्ण हिम श्रृखलाका सेता हिमालहरु संयौको संख्यामा रहेका पाल्पा, स्याङ्गजा, गुल्मी, तनहु, लमजुङ्ग सम्मका ठुला-ठुला पहाडहरुको दृश्य र दक्षीणतर्फ नेपालको समथर तराई मधेशको भूमि, भूभाग, गौतमस्थल बिमानस्थल देखि भारतको गोरखपुर सम्मको दृश्यालोकन गर्न सकिन्छ। लुम्बिनी केबलकारको यात्रा बाट एकै साथ तराई, पडाह र हिमालको अनुभूति गर्न सकिन्छ भने रुपन्देही बुटवल देखि तिनाउ बशन्तपुर पाल्पाको तापक्रम झण्डै ८ देखि १० डिग्री फरक हुने गरेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ। तराई तथा बुटवल वरपर लु तातो हावा चल्ने तापक्रम झण्डै ४० डिग्री माथि हुदाँ बशन्तपुरको तापक्रम केवल २८ देखि ३० डिग्री सम्म मात्र हुने गरेको पाईएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।



