मानवसेवा आश्रमका बालवालिका निशुल्क केबलकार यात्रामा
मानवसेवा आश्रम बुटवलको संरक्षणमा रहेका असहाय, अनाथ, अभिभावकविहिन वालवालिकाहरुलाई लुम्बिनी केबलकार लिमिटेडले निशुल्क केबलकारको भ्रमण यात्रा गराएको छ।
बुटवल उपमहानगरपालिका वडा नं.-३ बमघाट देखी तिनाउ गाउँपालिका वडा नं.-३ बशन्तपुर पाल्पा सम्म संचालित लुम्बिनी केबलकारले मानवसेवा आश्रममा रहेका असहाय, अनाथ, अभिभावकविहिन बालबालिकाहरु समेत आश्रममा ती बालबालिकाहरुको रेखदेख गर्ने कर्मचारीहरु र स्वयंसेवकहरुलाई निशुल्क यात्रा गराएको हो ।
मानवको रुपमा जन्मिएर पनि सामान्य मानिस सरह जीवन बाच्न नपाइरहेका, खुल्ला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अन्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका, स्वयम आफ्ना लागि केहि गर्न नसक्ने अवस्थामा रहेका, संरक्षण र पालन पोषण गरिदिने कोही नभएका, सामान्य अभिभावकत्व समेत नपाई जीवन नै जोखिममा रहेका मानिसहरुलाई मानवसेवा आश्रमले संरक्षण, भरणपोषण र प्रर्वद्धन गर्दै आईरहेको रुपन्देही शाखाका प्रमुख सरु अधिकारीले बताउनु भयो ।
अहिले मानवसेवा आश्रम लुम्बिनी प्रदेशमा रुपन्देही, दाङ्ग र नेपालगञ्ज गरी ३ वटा शाखा रहेको र तीनै वटा शाखामा गरी ३ संय बीस जना रहेको र जसमध्ये सबैभन्दा बढी रुपन्देही शाखामा १ सय असी जना रहेको शाखा प्रमुख अधिकारीले बताउनु भयो ।
मानवसेवा आश्रम सञ्चालनको मुख्य स्रोतको रुपमा विभिन्न महानुभवहरुले गर्ने मुट्ठी दान, जन्मदिन, विवाह वर्षगाठ उत्सव, पितृहरुको पृण्यतिथि, संस्थाको वार्षिकोत्सव, पदोन्नति, पर्वहरु लगायत विभिन्न अवशर वा दिनहरुमा मानवीय सेवा भावले प्राप्त हुने नगद वा जिन्सि सहयोग एवं तीनै तहका सरकारहरुबाट प्राप्त हुने अनुदान सहयोग नै रहेको शाखा प्रमुख अधिकारीले बताउनु भयो ।
अहिले बुटवल शाखामा रहेका १ संय असी जनाहरु मध्ये १ संय चौध जना वृद्धबृद्धाहरु रहेको र जसमध्ये १६ जना असहाय, अनाथ, अभिभावकविहिन बालबालिकाहरु रहेकामा ती मध्ये २ जना बौद्धिक अपाङ्ग रहेको छन् । सबै वालवालिकाहरु शान्ति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत रहेको मानवसेवा आश्रम रुपन्देही शाखाले जनाएको छ ।
बालबालिकाहरु भविष्यको कर्णधारको रुपमा रहेको र असहाय, अनाथ, अभिभावकविहिन बालबालिकाहरुको सेवा गर्न सबैको साझा दायित्व हुने भएकोले बालबालिकाहरुलाई केबलकारको निशुल्क यात्रा गराईएको लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनुभयो । उहाँका अनुसार यसका साथै लुम्बिनी केबलकार लिमिटेडले जेष्ठ नागरिक, मुटु तथा मृगौला पीडित नागरिकहरु, रक्तदाता समाजमा आबद्ध रक्तदाताहरु लगायत परोपकारी सामाजिक सेवामा आवद्ध सामाजिक सस्थामा आवद्ध सदस्यहरुलाई निशुल्क केबलकारको यात्रा गराउने गरेको छ ।लुम्बिनी केबलकार लिमिटेडको लुम्बिनी प्रदेशको बुटवलमा वटम स्टेशन र पाल्पा तिनाउ गाउँपालिका वडा नं.-३ वशन्तपुर डाडामा टप स्टेशन रहेको छ। बुटवल वाट १२ मिनेट केबलकारको यात्रा बाट वशन्तपुरमा पुग्न सकिन्छ भने केबलकारको माथिल्लो स्टेशनमा नेपालमा एक मात्र शक्तिपिठ कामाख्या देवीको मन्दिर रहेको छ।
केबलकारको यात्रा बाट बुटवल शहर, सिद्धबाबा धाम, तराई, पहाड हरियाली वन जंगल एवं उत्तर तर्फ अन्नपूर्ण हिम श्रृखला देखी दक्षीण तर्फ नेपालको गौतमस्थल विमानस्थलका साथै भारतको गोरखपुर सम्मको दृश्यालोकन गर्न सकिन्छ। लुम्बिनी केबलकारको यात्रा बाट एकै साथ तराई, पडाह र हिमालको अनुभूति गर्न सकिन्छ ।
गर्मीयामको शुरुवात संगसगै शितलताको लागि दैनिक संयौको संख्यामा यात्रुहरु बुटवल हुदै केवलकारको माध्यमबाट तिनाउ३ पाल्पा बशन्तपुर पाल्पा जाने गरेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । समुद्री सतहबाट झण्डै १ हजार मिटरको उचाईमा रहेको केबलकारको माथिल्लो स्टेशनमा झण्डै १० डिग्रीको तापक्रममा फरक हुने गरेको पाईएको छ। लुम्बिनी केबलकारको यात्रामा नेपालको विभिन्न स्थानहरुबाट र भारतको उत्तर प्रदेशबाट दैनिक संयौको संख्यामा यात्रुहरु आउने गरेको र लुम्बिनी केबलकार भारतीय पर्यटकहरुको लागि एउटा महत्वपूर्ण पर्यटकीय गनतव्यको रुपमा रहेको केबलकारकम्पनीले जनाएको छ।



