गुल्मीको छत्रकोट गाउँपालिका ५ खज्र्याङका डालप्रसाद पन्थीको उन्नत जातको भैसी गत बुधबार म¥यो । एक हप्तादेखि भैसी बिरामी थियो । भैसीले कुकुर जस्तै कराउने, कोखा हान्ने, खाना नखाने लगायतका अस्वभाविक लक्षण देखाएको थियो । पन्थीका अनुसार भैसीको साँप्रामा टोकेका डाम थिए । तर, कुकुर वा जंगली जनावरले केले टोक्यो पत्तै पाएनन् । उनले सिद्धि बिनायक कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर १४ वटा भैसी पालेका छन् । अरु भैसी ठिक भएपनि मधेशबाट डेढ लाख हालेर ल्याएको साढे ४ माना दुध दिने भैसी मरेपछि पन्थी पीडामा छन् । गाउँमा निकै त्रास भएकाले कुकुर नियन्त्रणमा ध्यान दिन पन्थीले स्थानीय सरकार र प्रशासनलाई आग्रह गरे ।
गत २३ र २५ पुसमा अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं ४ केरुङ्गाका डम्बर बहादुर विकका दुई भैसी मरे । व्याउने र थोरो भैसी मरेपछि विकलाई करिव डेढ लाखको आर्थिक क्षति भएको छ । उनले रातिमा भैसीको कान र मुखमा टोकेको चोट देखे । केहिबेरमा गाउँमा हल्लाखल्ला भयो । गाउँमा अरु व्यक्तिका पनि पशुचौपाय टोकेपछि कुकुर भन्ने पत्तो भयो । तर, बौलाह कुकुर भन्ने भएन । विकले तत्काल खासै समस्या नभएकाले केहि उपचार गरेनन् । एक महिनापछि भैसी बिरामी परे । पशु प्राविधिक ल्याएर रेबिजको खोप त लगाए । भैसी बाँचेनन् । बिमा थिएन । विकले गाउँका नेताहरुलाई भैसी मरेको खबर सुनाए । तर, कसैले पनि कुकुरले टोकेर मरेका पशुको क्षतिपूर्ति पाइन्छ भनेन् । डम्बरबहादुर अहिले पीडाले बिक्षिप्त छन् । ‘गाउँका त्रासले बाहिर निस्कने अवस्था छैन् । मान्छे जोगिने कि पशुचौपाय निकै गाह्रो भयो,’उनले भने,‘हाम्रो क्षति सरकारले देख्नुपर्छ ।’सोहि गाउँकै दुई जनाको दुई वटा पाडी पनि मरे ।
छत्रदेव वडा नं २ बल्कोटका राधिका भुसाल र कुलानन्द भुसालका एक÷एक वटा भैसी मरे । सोििह गाउँकै एक जनाको पाडी पनि म¥यो । त्योभन्दा अगाडी वडा नं ७ भगवतिमा कुकुर र बाख्रा मरेको छत्रदेव गाउँपालिकाका पशु प्राविधिक उमानाथ पन्थीले बताए । एक÷डेढ महिना अघि कुकुर गोठहरुमा पशुचौपाय टोक्दै हिडेको र लक्षणहरु पनि देखिएकाले रेबिजको कारण मरेको आशंका रहेको पन्थीले बताए । उनले कुकुरले मान्छे र पशुचौपाय टाकेपछि पालिका भित्रका पाँच सय बढि कुकुरलाई रेविज बिरुद्धको खोप लगाइएको बताए । स्थानीयले गुल्मीको सिमीचौरबाट एउटा कुकुर पशुचौपाय र मान्छे टोक्दै अर्घाखाँचीको छत्रदेव गाउँपालिका प्रवेश गरेको स्थानीयलाई उदृत गर्दै प्राविधिक पन्थीले बताए ।
बिहिबार गुल्मी दरवार गाउँपालिका ४ विरबासका बाबुराम कंडेलको भैसीलाई पनि कुकुरले टोकेको लक्षण देखिएकाले प्राविधिक टोली स्थलगत निरिक्षणमा पठाएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए । उनले कार्यालयबाट स्थलगत रुपमा गएका डाक्टर मदन भण्डारी सहितको प्राविधिक टोलीले भैसीले आक्रामक किसिमका लक्षणहरु देखाएकाले रेबिज परिक्षणको लागि स्याम्पलहरु लिएर आएको बताए । रेबिज लागेको प्रमाणित भएपछि स्थानीय तहहरुको समन्वयमा अरु योजना बनाउने काफ्लेले बताए । तर, आफु र आफ्ना पशुचौपायको ख्याल गर्न र शंका लागेमा तुरुन्त सम्बन्धित कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरे । गुल्मी दरवार गाउँपालिका ६ की ४० बर्षीया रजुना शाहाको रेबिजकै कारण केहिदिन अघि ज्यान गएको थियो ।