गुल्मीको चन्द्रकोट गाउँपालिका ४ रेमीका ६९ बर्षीय बल बहादुर नेपाली । जिल्लाका पुराना कलाकार हुन् । उनले ०४५ सालमा स्वर परिक्षा पास गरेका थिए । तत्कालिन समयमा करिव एक दर्जन गीत गाए । गीत गाउन परिक्षा दिनु पर्ने भएकाले त्यो जमना अहिले जस्तो सजिलो थिएन् । स्वर परिक्षाको लागि निवेदन दिएपछि समुहले भनेको भाकामा गीत गाउँनुपथ्र्यो । रेडियो नेपालको प्रतिभा साँझमा गीत गाइरहेकाले बल बहादुर स्वर परिक्षामा उतिर्ण भए । नेपालीले गाएको पहिलो गीत ‘खोली तिरैमा कहाँ बस्यो न्याउली रेमी भिरैमा’ हो । ‘रेमीको फेँदैमा झ¥यो हुँग्दी खोला बाँचे भेट होला’, ‘उराठिलो चैतको महिना झरे पात रुखमा केहि छैन’ लगायतका एक दर्जन गीत बल बहादुरले गाएका छन् ।
अहिलेका नयाँ गीतसंगीतसंग तपाईलाई कत्तिकै आनन्द आउँछ ?
बल बहादुर रेमी गाउँमा साधरण जीवन बिताएका छन् । उनी पछिल्लो गीत संगीतप्रति सन्तुष्ट छैनन् । अहिले प्रतिभा प्रस्फुटनका माध्यम थुप्रै भएपनि गीत संगीतमा मौलिक आत्मा नभएको बुझाई बल बहादुरको रहेको छ । त्यो जमानमा आफ्ना प्रतिभा प्रस्फुटन गर्ने केहि माध्ययम थिएनन् । उनले म्युजिक नेपालमा ठुलो संर्घषले गीत रेकर्ड हुन्थ्यो । क्यासेटको रंगिन खोल छाप्न हङकङ पठाउनुपर्ने बाध्यता रहेको स्मरण गरे । तत्कालिन समयमा परदेशको पीडा, चिठ्ठी पत्र, कश्मिर लडाई, गाउँका दुख, सासु–बुहारीका बेदना र ठुला दुर्घटनालाई केन्द्रमा राखेर घटना प्रधान सृजनाहरु निर्माण गरिने नेपालीले बताए । ‘त्यो जमनामा मायाप्रेमसंगै घटनाप्रधान सृजनामा आत्मा हुन्थ्यो । अहिले पश्चिमा संस्कृतिको नक्कल गरेर नेपाली गीत संगीतमा छाडापन सुरु भयो,’उनले भने,‘कलाकारले कला र संस्कृतिको दुरुपयोग गरे ।’
राज्यबाट स्रष्टा र सृजनाको सम्मान कत्तिको पाउनु भएको छ ?
बल बहादुरले तीनै तहका सरकारबाट स्रस्टा र सृजनाको सम्मान हुन नसकेको गुनासो गरे । बाहिरी मुलुकहरुमा कलाकारको सम्मान, संरक्षण र उर्जाका निम्ती थुप्रै काम भएपनि नेपालमा कलाकारले दुख पाएको नेपालीको तर्क छ । उनले कलाकार र कला संस्कृतिको पहिचान, संरक्षण र प्रर्वद्धनमा सरकारले केहि नगरेका कारण अन्तितमा स्रस्टा बिदेश हिड्न वा अरु पेशा व्यावसायमा जोडिन बाध्य भएको बताए । ‘त्यो बेला रेडियोमा बोल्ने मान्छे देख्दा गौरव लाग्थ्यो । गाउने मान्छेको कति ठुलो सम्मान र आर्दशता थियो,’उनले भने,‘ त्यो बेलाका सृजनामा सत्यता र जीवन्तता पनि थियो ।’
सामाजिक जीवन कस्तो थियो ?
बल बहादुर नेपाली २०२७ सालमा शिक्षक पेशामा लागे । उनले सुरुमा उदय माविमा अध्यापन गराए । त्यसपछि रिडीको भारती निमावि, मजुवाको ज्ञानोदय मावि हुँदै पुन उदय माविमै फर्किएर अवकास लिए । अहिले गाउँमा घरयासी काम र सामाजिक सेवाका काममा व्यस्त छन् । शिक्षण पेसामा हुँदाहुँदै सोकको कारण स्वर परिक्षा दिन र गीत गाउँ थालेको उनको भनाई छ । उनले पछि पेसाको कारण सधै काठमाण्डौ जान समस्या भएको र अरु अवसरहरु नजिक नभएको कारण छोड्दै गएको बताए । बिद्यालयबाट जिल्लाका थुप्रै प्रतियोगीतामा दोहरी गाएर शिल्ड प्राप्त गरेका थिए ।



